
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्याउने बताएका छन् ।
मंगलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने बताएका हुन् ।
उनले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजी नीति गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन् । क्रमशः खुल्छन् । खुलाइन्छन् । २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिन्छ ।’
उनले ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित भइरहेका छन्, तिनको खोजीनिती गरिने पनि बताए । उनले भने, ‘ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनीति गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठूलाठूला शङ्काहरू छन् । के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन । यी सबै कुराहरू पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ ।’
प्रधानमन्त्री दाहालले आफ्नो बुधबारबाट हुने भारत भ्रमणका क्रममा विद्युत बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने प्रतिबद्धता जनाए । भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने उनको भनाइ थियो ।
यस्तै, उनले भारत भ्रमणकाे क्रममा सके राम्रा राम्रा सम्झाैता गर्ने नसके देशकाे हित विपरित हुने कुनै पनि सम्झाैता नगर्ने प्रतिबद्धता पनि जाहेर गरे ।
हेर्नुहाेस् भिडिओ :