
काठमाडौं । आफ्नो चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदैछन् । त्यसअघि भ्रमणको तेस्रो दिन शुक्रबार प्रचण्डले भारतको मध्य प्रदेशस्थित उज्जैनको भ्रमण गरेका छन् ।
दिल्लीको भ्रमण सकेपछि विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका प्रचण्डले त्यहाँको महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकनका साथै पूजापाठ गरे । पूजापाठमा सरकार अन्य मन्त्रीहरू र भ्रमण प्रतिनिधिमण्डल सहभागी थिए ।
त्यसअघि इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलगायत सरकारी अधिकारीले स्वागत गरेका थिए ।
सो अवसरमा विमानस्थल बाहिर प्रधानमन्त्रीलाई स्थानीय सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो । सडक उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्डा फहराएर सम्मान प्रकट गरेका थिए ।
विमानस्थल बाहिरका सडकमा ‘तपाईंलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए । विमानस्थलबाट उनी उज्जैनमा रहेको महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा पुगेका थिए । यसैगरी प्रधानमन्त्रीले इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन पनि गरे ।
सो क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिकृत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । उनले स्रोतबाट नै छ भागमा विभाजन गरेर फोहरको व्यवस्थापन हुँदै आएको बताए ।
कूल एक अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको सो केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ । केन्द्रमा फोहर व्यवस्थापनका लागि मासिक एक करोड १५ लाख भारतीय रुपैयाँ खर्च हुँदै आएको प्रमुख कार्यकारी अधिकृत सिंहले जानकारी दिए ।
सो केन्द्रले फोहरलाई व्यवस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ । केन्द्रले मासिक तीन करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाइ छ । उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ । ती ग्यास इन्दोर सहरमा चल्ने सवारी साधनमा प्रयोग गरिँदै आइएको छ ।
केन्द्रको अवलोकनपश्चात् प्रधानमन्त्रीले नेपालबाट प्राविधिकहरू पठाई फोहर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने बताए ।