
काठमाडाैं । रुसले युक्रेनमा आक्रमण गरेपछि नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित बस्न भनेकाे छ ।
जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर संयमता अपनाइ अहिले बसोबास गरिरहेको ठाउँमै घरभित्रै सुरक्षित बस्न अनुरोध गरेको हाे ।
हवाईमार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नहुने भएका कारण दूतावासले यस्ताे अनुराेध गरेकाे हाे ।
युक्रेन सरकार र सम्बन्धित कलेज/विश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जान, राहदानी, परिचयपत्र, बैंकको कार्डलगायत कागजात आफ्नो साथमा राख्न र साथीभाइ तथा परिवार र नियोगसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरेको छ । युक्रेनको पछिल्लो घटनाक्रमबारे नियमित जानकारी राख्न र आवश्यक परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ ।
युक्रेनका सबै भूभागमा गरी झण्डै दुई सय नेपाली नागरिक रहेको विवरण छ । तीमध्ये ७ जना पूर्वी युक्रेनमा छन् । अहिलेसम्म १ सय ५० नेपाली सम्पर्कमा आएको र तत्काल उद्धार गर्नसक्ने अवस्था नरहेको बताइएकाे छ ।