
काठमाडौं । ‘सच्चाई शब्दको अर्थ सत्य हो । सच्चाई सकारात्मको सोचको ज्योति पनि हो ।’ ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल’ नामक संस्थाले पनि यही भन्छ तर काम चाहीँ नाम भन्दा ठीक विपरित झुट, अन्धविश्वास र रुढीवादी प्रवृत्तिको गर्छ ।
सच्चाई केन्द्र नेपालले इशाइ धर्म प्रचारकको काम गर्छ । यसको कार्यालय पोखरा महानगरपालिका– १६ कास्की लामाचौर दीप हाउजिङमा छ । यसका सञ्चालक हुन् प्रकाश दीप गैरे ।
२०७१ सालमा स्थापना भएको उक्त संस्थाले धार्मिक विकृति विसंगति फैलाउने गरेको, विभिन्न रोगको उपचार गरिदिन्छौँ भन्दै अन्धविश्वास र रुढीवादी प्रवृत्तिको पछि लागेर विरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने गरेको, सच्चाइ केन्द्रको नाममा आर्थिक ठगी गर्ने गरेको तथ्य उजागर भएको छ ।
पोखरामा मुख्य कार्यालय रहेको यो संस्थाको देशभर तीन सय ५० भन्दा बढी शाखा सञ्चालनमा रहेका छन् । उक्त शाखाहरुबाट बार्षिक रुपमा करोडौँ रकम संकलन हुने गरेको छ । शाखाबाट उक्त रकम पोखरास्थित केन्द्रीय कार्यालयमा पुग्ने गरेको बताइन्छ तर यो रकम के कामका लागि कति खर्च हुन्छ कुनै हिसाब किताब छैन ।

सच्चाइ केन्द्र नेपालकाे शाखामा उठाएर मुख्य कार्यालय पाेखरामा लैजान लागिएकाे पैसाकाे झाेला ।
यो संस्था २०७१ सालमा स्थापना भए पनि जिल्ला प्रशासन कार्यालय पोखरामा २०७४ सालमा मात्र दर्ता भएको थियो । २०७४ सालमा दर्ता भए पनि यो संस्थाले हालसम्म कुनै पनि वर्षमा साधारण सभा गरेको छैन । यद्यपी यो संस्थाका अध्यक्षले संस्थाको नाममा आएको धनमाल, जग्गा जमिन, उपहारलगायतका सामग्रीहरु व्यक्तिगत रुपमा प्रयोग गर्ने गरेको तथ्य पनि बाहिर आएको छ ।
यतिमात्र होइन, सच्चाई केन्द्र नेपालले अन्धविश्वास र रुढीवादी प्रवृत्तिको पछि लागेर मानिसको ज्यानैसमेत पनि लिएको छ । केही समयअघि भएको एक घटनाले सच्चाइ केन्द्र नेपालको यस किसिमको क्रियाकलाप पुष्टि गरेको छ ।
गएको जेठ तीन गते दाङ जिल्ला बासगढी–३ महादेवाकी एक १६ वर्षीया किशोरीलाई सर्पले डसेको थियो । उनलाई सर्पले डसेपछि सच्चाई केन्द्रमा रहेकी धर्मगुरु भनिने एक महिला योगेन्द्र कुमारी घर्तीलाई भनेका थिए । ती महिलाले सर्पले डसेको फुकेर निको पारिदिन्छु भन्दै अस्पताल लैजान रोकेकी थिइन् । उनले आफूले सर्पले डसेको फुकेर निको पार्ने दाबी गरे पनि पछि ती किशोरीको मृत्यु भयो । धर्मगुरु भनिने महिलाले सर्पले डसेको बिरामीलाई अस्पताल लैजान रोकेको कारण ती किशोरीले अकालमा ज्यान गुमाउनु परेको किशोरीका परिवारले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता भएकाे प्रमाणपत्र ।
धर्मगुरु भनिने ती महिलाले ‘परमेश्वरले बचाइदिनुहुन्छ’ भनेर अनेक प्रार्थना गर्न लगाएको र पछि युवतीलाई सर्पले डसेको हो भनेर कसैलाई पनि नभन्नु भनेको परिवार स्रोतले बतायो ।
परिवारको अन्धविश्वास र धर्मगुरुको लापरवाहीका कारण समयमा उपचार हुन नपाउँदा युवतीको मृत्यु भयो । यस्तै, केन्द्रले अन्य कतिपय रोग पनि परमेश्वरले ठीक पारिदिने आश्वासनमा कयौँ मानिसलाई भ्रममा पार्ने गरेको र उपचारको नाममा मेडिकल साइन्सले नचिन्ने उपचार विधि र औषधीको प्रयोग गरी नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने गरेको पनि खुल्न आएको छ ।
युवराज सफल संयोजक रहेको नेपाल समाजवादी मोर्चाले पनि यो घटनाको बारेमा गृहमन्त्रालयको ध्यानाकर्षण गराएको छ । सच्चाइ केन्द्र नेपालले हालसम्म गरेको आर्थिक अनियमितता, यो संस्थाको कारण नेपाली आम नागरिकमा परेको असरका बारेमा गृहमन्त्रालयले छानविन गर्नुपर्ने माग मोर्चाले राखेको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालको साधारण सभा भए नभएको, संस्थाको नाममा चल अचल सम्पति कति रहेको, संस्थाको आर्थिक हिसाब किताब पारदर्शी रहेको नरहेको, संस्थाको नाममा भक्तजनबाट नियमित उठ्ने भेटी, उपहार, जिन्सीका साथै विभिन्न निकायले गर्ने सहयोग के कति मात्रामा रहेको, चल अचल सम्पत्ति कसको नाममा रहेको, संस्थाले उठाएको रकम एवं चलअचल सम्पति वैधानिक रुपमा लेखा परीक्षण गरेको नगरेको विषयमा विशेष छानविन समिति बनाइ छानविन गर्न माग गर्दछौँ ।’

गृहमन्त्रालयमा बुझाइएकाे ध्यानाकर्षण पत्र ।
कुनैपनि व्यक्तिलाई व्यक्तिगत आस्थाको आधारमा जुनसुकै धर्म मान्न छुट संविधानले दिए पनि प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने, समाजमा अन्धविश्वास, रुढीवादी परम्परा कायम राख्ने, मेडिकल साइन्सले प्रमाणित नगरेको कुरामा उपचारको नाममा विरामीलाई भड्काएर मर्न विवश बनाउने, विकृति विसंगतिलाई मलजल गर्ने काम सच्चाइ केन्द्र नेपालबाट भइरहेको पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यसबारे बुझ्न हुलाक सञ्चारले प्रकाश दीप गैरेसँग सम्पर्क गर्दा उनले यसबारे प्रतिक्रिया दिन मानेनन् ।