पहिचानको नाममा अराजकता सरकारले स्वीकार गर्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा पहिचानवादीका नाममा केही महिनादेखि जारी आन्दोलन राजनीतिक मर्यादाबाहिर गएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले पहिचानवादीका नाममा भइरहेको उग्र पदर्शनका क्रममा पार्टीका नेता कार्यकर्तामाथि आक्रमण भइरहँदा सरकार मौन बसेको भन्दै जवाफ मागेका थिए ।

भट्टराईले जवाफ मागेपछि गृहमन्त्री श्रेष्ठले कुनै पनि अराजक र उदण्ड गतिविधिलाई रोक्न सरकार सक्षम रहेको बताए ।

उनले बिहीबार मात्रै एमालेका प्रदेश सांसद राम रानामगरलाई इलाम र एकजना मन्त्री तिलकुमार मेयाङ्बोलाई उदयपुरमा आक्रमण प्रयास भएको भन्दै दुवैजनासँग आफूले सम्पर्क गरिसकेको पनि बताए ।

यसअघि गत वैशाखमा एमाले अध्यक्ष केपी शर्मा ओली झापासहितका जिल्लामा पुग्दा भएको आक्रमणमा संलग्न केहीलाई पक्राउ गरेर सरकारले मुद्दा चलाएको पनि उनले जानकारी गराए ।

‘पहिचानका नाममा कसैले उग्रता प्रदर्शन नगर्नू । अराजक क्रियाकलाप सरकारले नियन्त्रण गर्ने छ’, उनले भने, ‘वार्ता र संवादका तरिका अपनाएर यसलाई अन्यथा हुन नदिनेगरी अघि बढ्नु जरुरी छ । राजनीतिक ढंगले समस्याको समाधान पहल सरकारले पनि गर्नेछ ।’