
काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
आइतवारको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा बोल्न बाँकी सांसदले भाग लिने कार्यसूची रहेको छ ।
त्यसपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले उक्त छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन् ।
त्यस्तै आज विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि अर्थमन्त्री महतले ‘विनियोजन विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यक्रम छ ।
आजैको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई पनि निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यसपछि अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।