काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिपक गिरीले बजेट विनियोजनप्रति असन्तुष्टि जनाएर सांसदप्रति व्यंग्य गरेका छन् ।
सांसदहरूको काम कानुन निर्माण गर्ने कानुनी व्यवस्था भए पनि सर्वसाधारणले विकास र दैनिक जीवन सहज बनाउन भूमिका खेल्ने व्यक्तिका रूपमा बुझेको तर बजेट भने त्यसरी विनियोजन नभएको उनकाे भनाइ छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद गिरीले निर्वाचन क्षेत्रमा खसी मर्दा, कोही व्यक्ति हराउँदा, पहिरो जाँदा पनि सहयोग पाउँ भनेर फोन आउने गरेको बताए ।
‘म आफूलाई झोले सांसद भन्न चाहन्छु । राति १२ बजे फोन आउँछ, बूढी आमाको । बाबु मेरो त खसी एउटा मर्यो, कहींबाट केही पाइन्छ कि ! दुई खसी पालेको थिए, एउटा मर्यो । सांसद बाबुले केही गर्नुहुन्छ कि भन्नुहुन्छ,’ उनले भने, ‘नेपाली जनतालाई यो सांसदले कानुन, विधि, विधेयक बनाउने हो ? आफ्नो नागरिकलाई बुझ्नुस् । उसलाई त पहिरो गयो भने माननीयज्यू पहिरो गयो भन्नुहुन्छ । आगो लाग्यो भने फोन आउँछ ।’
प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड बजेट विनियोजन गर्ने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सांसदहरू बल्ल वडाध्यक्षसरह पुगेको भन्दै आलोचनात्मक टिप्पणी गरेका थिए । सांसद गिरीले भने मेयर शाहलाई सलाम गरेको भन्दै जवाफ दिएका छन्, ‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले कमसेकम हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो !’
सांसदलाई आफ्नो भूमिका निर्वाह गर्न कठिन रहेको गिरीको भनाइ थियो । ‘कम गाह्रो छ, कम कठिन छ । राति फोन आउँछ, राति १२ बजे । अन्यथा नमान्नुहोला, जलपान खाएको बेला फोन आउँछ । अब त चिन्नुहुन्न होला भन्छन् । नेपाली स्तर यस्तो छ । आफू पनि जलपान गरेको भए झगडा पर्न सक्छ । अवस्था यस्तो छ ।’
बजेटमा आयोजनाको वितरण समानुपातिक र आवश्यकताका आधारमा नभएको पनि गिरीले बताए ।