शरणार्थी प्रकरणमा संलग्नलाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका १६ अधिकारकर्मी पक्राउ

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरु पक्राउ परेका छन् ।

शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई कारवाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्रमा आएर नाराबाजी गरेको भन्दै प्रहरीले समाजका पूर्वसभापति कृष्ण पहाडीसहितका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्न अघि समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकतन्त्रमाथि शीर्ष नेताहरुबाट नै खतरा उत्पन्न भएको बताए ।

उनले भने ‘लोकतन्त्रमा खतरा भयो शीर्ष नेताहरु भ्रष्ट छन् । लोकतन्त्र राज्ने कि भ्रष्ट नेता छान्ने छिनोफानो हुनुपर्छ होइन भने लोकतन्त्र खतरामा छ, लोकतन्त्र खतरामा शीर्ष नेता भ्रष्टचारमा छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीहरुलाई कारवाहीहरु गरौं र चुरे मास्न पाईंन् । मानव अधिकार मैत्री ऐन बनाउ संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गो लगाउ भनेका छौं सरकारलाई । शीर्ष भ्रष्ट छन् नेताको सम्पति छानविन गर हाम्रो आग्रह यहि हो ।’

प्रदर्शनमा चुरे ध्वस्त पार्न पाइदैँन : मधेशमारा नीति चाहिदैँन, शीर्ष नेताहरुको सम्पत्ति छानविन खोइ?, भ्रष्टाचारी नेताको स्वर ठूलो किन?, सार्वभौम संसद राष्ट्रिय पञ्चायत जस्तो नबनोस, शीर्ष नेता भ्रष्ट छन् : नेपाली जनता त्रस्त छन, भ्रष्टाचारी नेताका कारण लोकतन्त्र खतरामा, भ्रष्टाचार विरोधी अभिलेख संसदको रेकर्डबाट किन हटाइयो ?, पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन शुरु हुनासाथ प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा डा. केदारनरसिह के.सी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, सचिव चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, अधिकारकर्मीहरु बलबहादुर गाहा मगर, दिवाकर पुडासैनी, गिता तिमल्सिना, भगवान पुडासैनी, उमा गौतम, रुपा गिरी, विकास थापा, तुलसीराम भण्डारी, दुर्गाप्रसाद सापकोटा, ईश्वरी नेपाल, उपेन्द्र कुइकेलसहित १६ अधिकारकर्मीलाई गिरफ्तार गरेको हो । गिरफ्तार अधिकारकर्मीहरुलाई नेपाल पुलिस क्लव भृकुटीमण्डपमा राखिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१