
ओलेना कुरिलोको अनुहारभरी रगत लतपतिएकाे तस्बिर युक्रेन युद्धको निकै चर्चामा आएका अनुहारमध्ये एक हाे । कुरिलोले आफ्नो भयावह भोगाइकाे स्मरणसहित भनेकी छन्, ‘म भाग्यले मात्रै बाँचे ।’
उनी युक्रेनकी एक शिक्षिका हुन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि उनको रगतको टाटा जमेको तथा ब्यान्डेज गरिएको अनुहार आतंकको पर्याय बनेको छ ।
पूर्वी युक्रेनको खार्किभस्थित आफ्नो घरमा रुसी फौजले बम प्रहार गर्दा ५२ वर्षीया उनी घाइते भएकी हुन् । आक्रमणमा उनको घर पूर्ण रुपमा ध्वस्त भएको बताइएकाे छ ।
यतिबेला उनको तस्बिर थुप्रै अखबारमा पहिलो पृष्ठमा छापिएको छ ।
बिहीबारको हमलामा घाइते भएकी उनी अस्पतालमा उपचार गरेर फर्कने क्रममा आफ्नो ध्वस्त घरसामु उभिएर न्युज च्यानलसमक्ष केही भनिरहेकाे अवस्थामा उनकाे तस्बिर खिचिएकाे थियाे ।
त्यतिबेला उनले भनेकी थिइन्, ‘भगवानका कृपाले बाँचेकाे छु । जिन्दगीमा यस्तो पनि घटना घट्छ होला भनेर कहिल्यै सोचेकै थिइनँ । मैले सकेसम्म र मेरो बलबुताले भ्याएसम्म युक्रेनका लागि जे पनि गर्छु । म सदा सर्वदा आफ्नो मातृभूमिको पक्षमा उभिनेछु ।’