यूएईविरुद्ध नेपालको रोमाञ्चक जित, दीपेन्द्र र सन्दीप बने नायक

काठमाडाैं । दीपेन्द्रसिंह ऐरीको शानदार ब्याटिङ र सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनको सहयाेगमा आईसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईमाथि ३ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

यूएईले प्रस्तुत गरेको १ सय ८२ रनेको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो ।

नेपालले खेलमा खराब सुरुवात गरेको थियो । ओपनर अर्जुन साउद मात्र १ रन बनाएर आउट भएका थिए । २९ रनमा नेपालले १३ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमाएकाे थियाे ।

त्यसपछि लगातार विकेट गुमाएको नेपालका लागि कुशल भुर्तेल आउट हुँदासम्म टोलीले ६ विकेटको क्षतिमा मात्र ६३ रन बनाउन सकेको थियो । भुर्तेलले ३५ रन बनाउँदा रोहित पौडेल, भीम सार्की र आरिफ शेखले दोहोरो अङ्कमा रन नै जोड्न सकेनन् ।

गुल्सन झा पनि १२ रन बनाएर आउट भएपछि नेपाल ७ विकेटको क्षतिमा १०६ रनको खराब स्थितिमा रहेको थियो । त्यसपछि भने ऐरीले लामिछानेसँग मिलेर नेपालको इनिङ्सलाई सम्हाल्दै टोलीलाई जीतसम्म डोर्‍याए । ऐरीले सर्वाधिक ७९ रन बनाए भने लामिछानेले २३ रन बनाए ।

प्लेयर अफ द म्याच चुनिएका दीपेन्द्रले ८५ बलको सामना गर्दै ७ चौका र दुई छक्का हिर्काए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो ।