
काठमाडाैं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा आज शुक्रवार भएको भेटवार्तामा उनीहरूबीच अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटमा उनीहरूबीच सन् २०२६ मा नेपाल अल्पविकसित देशको सूचीबाट स्तरोन्नति हुने र त्यसपश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको छ । साथै द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ ।
सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।
उनले अमेरिकामा ठूलो सङ्ख्यामा रहेका नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदान र उनीहरूले हासिल गरेको प्रगतिको प्रशंसा गर्नुभयो । साथै उनीहरूबीच दुई देशबीचको लामो मित्रवत् सम्बन्धको विषयमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्त्वबारे चर्चा भएकाे छ ।