ललिता निवास प्रकरण : आरोपितलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।

आईतबार न्यायाधीश दयाराम ढकालको इजलासले मीनबहादुर गुरुङसहित १७ जनालाई सरकारी कागजात किर्तेको उजुरीमाथिको अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो ।

प्रहरीले यो प्रकरणका अभियुक्तहरुलाई सुरुमा ७ दिन, त्यसपछि थप ७ दिन, तेस्रो पटक ५ दिन र चौथो पटक ५ दिन म्याद थपेको छ ।

यसअघि गत असार १२ गते भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए ।

गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो ।

सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको थियो । उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो ।

यो प्रकरणमा पछिल्लो पटक गत बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको छ ।