काठमाडौं । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमले अबदेखि पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने व्यवस्था गरेको छ ।
निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । पेट्रोल लिटरमा ६ रुपैयाँ, डिजेल र मटीतेलमा समान ४/४ रुपैयाँ मूल्य घटेकाे छ भने ग्याँसमा प्रतिसिलिण्डर १० रुपैयाँ घटेकाे छ ।
अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ पर्नेछ । तराईका जिल्लाहरुमा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रुपैयाँ पर्नेछ ।
डिजेल र मटीतेल उपत्यकामा लिटरको १४६ रुपैयाँ, तराईका जिल्लाहरुमा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १४५ रुपैयाँ पर्नेछ ।
एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य १८०० रुपैयाँबाट घटेर १७९० रुपैयाँ कायम भएको छ ।