
रुसी सेनाले युक्रेनमा सैन्य आक्रमण गरेको ५ दिनपछि दुई राष्ट्रका अधिकारीहरुबीच बेलारुसमा शान्तिवार्ता सुरु भएको छ ।
वार्ताअघि युक्रेनमा राष्ट्रपति जेलेन्स्कीले युद्धविराम गर्न र आफ्नो देशबाट सेना फिर्ता लैजान रुससँग आग्रह गरेका थिए ।
युक्रेनसँग सीमा जोडिएको बेलारुसको क्षेत्रमा दुई देशका अधिकारीहरु वार्तामा बसेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यी दुई देशबीच भएको शान्ति वार्ताका तस्बिरहरु सार्वजनिक गरेका छन् ।
बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नु पर्ने शर्त राखेको छ ।
युक्रेनले दुई शर्त राखेपछि वार्ताले सकारात्मक मोड लिने सम्भावना कम रहेको अधिकारीहरुले जनाएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताएका थिए ।
वार्ता युक्रेनसँगको सीमा क्षेत्रमा पर्ने बेलारुसको एक ठाउँमा भएको हो । रुसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्विकार गरेपछि रुसले आक्रमण अझ बढाएको थियो ।
रुसी सेनाले युक्रेनमा अहिले पनि आक्रमण जारी राखेका छन् ।