
युक्रेनमाथि रुसले पाँच दिनदेखि आक्रमण गरिरहेकाे छ । रूसी सेनाको आक्रमणको युक्रेनीहरूले प्रतिरोध गरिरहेका छन् ।
याे प्रतिराेधकाे चर्चामा छन्, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की । शक्तिशाली रुसी सेनासँग लड्नका लागि युक्रेनका सेना तथा नागरिकहरुमा राष्ट्रपतिले बेला बेलामा हाैसला दिइरहेका छन् ।
यतिबेला जेलेन्स्कीको चर्चा संसारभरि भइरहेको छ । युक्रेनभित्र पनि उनको लोकप्रियता बढीरहेकाे छ ।
बीबीसीका अनुसार यही साता गरिएका विभिन्न सर्वेक्षणमा ९१ प्रतिशत युक्रेनीले जेलेन्स्कीकाे समर्थन गरेका छन् । विभिन्न ठाउँका २ हजार बढी मानिसमा गरिएको सर्वेक्षणमा ६ प्रतिशतले उनको विरोध गरेका थिए ।
तीन प्रतिशत अनिर्णित रहेकाे बताएका थिए ।
राष्ट्रपति हुनुपूर्व जेलेन्स्की युक्रेनका लोकप्रिय हास्य कलाकार थिए । त्यही लोकप्रियताका कारण उनी ७३ प्रतिशत मत पाएर युक्रेनको छैठौँ राष्ट्रपति निर्वाचित भएका थिए ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली भएको युक्रेनमा तीन वर्ष अघि उनले चुनावमा उम्मेदवारी दिँदा पनि उनी संसारभर चर्चित भएका थिए ।