• २०८३ असार १४
  • 2026 June 28, Sunday

कांग्रेसमा होला त भावनात्मक एकता ?

काठमाडौं ।‘पार्टीभित्र विचार समूह हुन्छ, यसलाई नकारेर हुँदैन । बिपी, गणेशमान, किसुनजीलगायतको पनि विचार समूह थियो । त्यसलाई व्यवस्थित गर्ने र सँगै लिएर जाने कुरा महत्वपूर्ण हो । तर पार्टीमा भावनात्मक एकता कमजोर बनेको छ ।’ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय समितिमा व्यक्त गरेको धारणा हो यो ।

खड्का मात्र होइन साउन २ गते देखि जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने सबै नेताहरूले पार्टीमा गुटबन्दी मौलाएको र भावनात्मक एकता कमजोर भएको औल्याएका छन् । त्यतिमात्र होइन पार्टीभित्र बृहत एकतासहित २१औं सताब्दीको चुनौतीलाई सामना गर्न सक्ने कांग्रेस बनाउनु पर्ने सदस्यहरूको मत छ ।

पार्टीको गुट उपगुटमा विभाजीत कांग्रेसमा पार्टीभित्र बृहत र भावनात्मक एकता कसले गर्ने भन्नेमा नेताहरू नै स्पष्ट छैनन् । सबै आआफ्ना गुट र समुह बनाउन कांग्रेसका नेताहरू सक्रिय छन् । जारी केन्द्रीय समितिको बैठकमा पनि गुटगत आधारमा नै कांग्रेसका नेताहरूले आफ्नो धारणा राखेका छन् । पार्टीभित्रको बृहत हित भन्दा गुटगत स्वार्थका आधारमा प्रस्तुत नेताहरुले कांग्रेसभित्र एकताको कुरा गर्दा पनि आम जनताले मात्र होइन पार्टीका नेता तथा कार्यकर्ताले पनि पत्याएका छैनन् ।

कांग्रेस प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य प्रकाशशरण महतले पनि कांग्रेस एक मिसन, एक लक्ष्यका साथ प्रस्तुत हुन्छौं कि हुँदैनौं भन्ने कांग्रेसको अगाडि ठुलो र ज्वलन्त प्रश्न रहेको बताए ।

‘हामी कार्यक्रम गर्छौं, पटकपटक गरौंला । तर एउटा समूहको कार्यक्रम हुने, एउटा गुटको कार्यक्रम हुने भयो भने हामीले प्राप्त गर्न खोजेको लक्ष्य पूरा हुँदैन,’ महतले भने ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले २१औं शताब्दी अनुकूल हुने बलियो र एकताबद्ध पार्टी बनाउनुपर्नेमा जोड दिए । तर,सँगै उनले पार्टी नेतृत्व परिर्वतनका लागि आफ्नो प्रयास जारी रहने र प्रयास गरी रहने तर्क गरे । ‘मैले त दलको नेता फेर्ने कुरा गरेको हो । म बदल्न लागिरहेको छु,’ उनले बैठकमा भने,‘सके बदल्छु नसके चुप लागेर स्विकार्छु ।’

स्थापना देखि नै गुट र उपगुटमा विभाजित कांग्रेसमा अहिले पनि झण्डै दर्जन समुहहरू सक्रिय छन् ।

सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला नेतृत्वका मुख्य दुई गुटले कांग्रेसको तल्लो तहसम्म जरा फैलाएको छ । त्यसका अतिरिक्त त्यही दुई गुटभित्रका उपगुट र उपसमुहहरू कांग्रेसमा छन् ।

उपसभापति पूर्णबहादुर खड्का, देउवा पत्नी तथा केन्द्रीय सदस्य आरजु राणा, महामन्त्री गगनकुमार थापा तथा विश्वप्रकाश शर्मा, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि तथा विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइरालासहितका नेताहरूले आआफ्ना गुटको अभ्यास गर्दै आएका छन् ।

त्यतिमात्र होइन पार्टी र सत्ता साझेदारीमा पनि उनीहरूले कांग्रेसभित्र हिस्सेदारी खोज्दै आएका छन् । कांग्रेसले गर्ने कार्यक्रम र त्यसमा सहभागितासमेत समुहकै आधारमा तय हुने जनाउँदै एक पदाधिकारीले भने,‘पार्टीभित्र भावनात्मक एकता भन्ने कुरा मात्र हो, त्यो सम्भव छैन ।’