रुसले युक्रेनविरुद्ध प्रतिबन्धित बम प्रयोग गरेको दाबी

अमेरिकाको लागि युक्रेनकी राजदूतले सोमबार रुसले युक्रेनविरुद्ध प्रतिबन्धित बम प्रयोग गरेको आरोप लगाएकी छन् ।

अमेरिकी संसदमा युक्रेनकी राजदूत ओक्साना मार्कारोभाले रुसले थर्मोबेरिक हतियार प्रयोग गरेको बताएकी हुन् । उनले भनिन्, ‘रुसले आज भ्याकुम बमको प्रयोग गर्‍यो जुन जेनेभा सम्मेलनको प्रावधानअनुसार प्रतिबन्धित छ ।’

थर्मोबेरिक हतियारलाई सामान्यतया भ्याकुम हतियार पनि भनिन्छ । यद्यपि यो दाबी स्वतन्त्र पुष्टि हुन भने सकेको छैन ।

यो बम उच्च–चापसहितको विष्फोटक पदार्थले भरिएको हुन्छ । यस्तो बम शक्तिशाली हुनुका साथै यसले आसपासको आक्सिजन पनि सोस्छ ।

ह्युमन राइट्स वाचका अनुसार रुसी गणरज्य चेचन्यामा यसअघि नै यस किसिमको हतियारको प्रयोग भइसकेको छ । यसअघि शनिबार सीएनएनले रुसको सहर बेलगोरोडनजिकै थर्मोबेरिक रकेट प्रक्षेपण गरिएको उल्लेख गरेको थियो।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिभिजनमा सम्बोधनको क्रममा रुसले आक्रमण सुरु गरेपछिको ५ दिनमा अहिलेसम्म ५६ रकेट र ११३ क्रुज मिसाइल प्रहार गरिसकेको बताएका छन् ।

उनले सोमबार खारकिभमा रुस युद्ध अपराधमा सामेल भएको पनि आरोप लगाएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१