काठमाडौं । कोशी प्रदेश सरकार गठन प्रक्रियासम्बन्धी रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासले भोलि बिहीबार अन्तिम फैसला दिने भएको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको बहस बुधबार सकिएको हो ।
सर्वोच्चका न्यायाधीशहरु इश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले रिट निवेदनमाथि दुवैतर्फको बहस सकिएका कारण फैसलाका लागि बिहीबारलाई हेर्दाहेर्दैमा राखेका हुन् । बुधबार रिट निवेदनका प्रत्यार्थीहरुको तर्फबाट १३ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए । उनीहरुको बहसपछि निवेदकको तर्फका कानुन व्यवसायीहरुले पनि जवाफी बहस सकेका छन् ।
कोशी प्रदेश सरकार गठनको दाबी पत्रमा सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेपछि गम्भीर संवैधानिक र प्रक्रियागत प्रश्न उठाउँदै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा असार २२ मा रिट निवेदन दायर गरेका थिए ।
बुधबार विपक्षीहरु मध्ये कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको तर्फबाट वरिष्ठ अधिवक्ताहरु खम्बबहादुर खाती, प्रेमबहादुर खड्का, यदु खनाल, मुक्तिनारायण प्रधान, विजय मिश्र, रमण श्रेष्ठ, दिपेन्द्र यादव, एकराज रिमाल, महादेव यादव, गोपालकृष्ण घिमिरे र सिताराम केसीले बहस गरेका थिए । त्यसैगरी विपक्षी कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमको तर्फबाट वरिष्ठ अधिवक्ता शंकर सुवेदीले बहस गरेको जनाइएको छ । प्रत्यार्थीहरुको बहसपछि रिट निवेदक कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु टिकाराम भट्टराई, बद्रीबहादुर कार्की, डा.सुरेन्द्र भण्डारी, इश्वरी भट्टराई, रविनारायण खनाल, महेश नेपाल, सानुराज पोखरेल, अमर थापा र कृष्णकुमार आङ्देम्बेले जवाफी बहस सकेका हुन् ।
मंगलबार रिट निवेदनका प्रमुख प्रत्यार्थी कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गको तर्फबाट महान्यायाधिवक्ता दिनमणी पोखरेल, उपन्यायधिवक्ता राजेन्द्र बस्नेत, नायव महान्यायाधिवक्ता सन्जिव रेग्मी, विश्व कोइराला र डा. टेकबहादुर घिमिरेले बहस गरेका थिए ।