• २०८३ जेठ २२
  • 2026 June 05, Friday

भारतीय सेनाद्वारा आयोजित ‘डुरन्ड कप’ खेल्न त्रिभुवन आर्मी क्लबका खेलाडी भारत प्रस्थान

काठमाडाैं । भारतको गुवाहाटीमा भारतीय सेनाको आयोजनामा जारी ‘डुरन्ड कप टुर्नामेन्ट-२०२३’ फुटबल प्रतियोगितामा सहभागी हुन त्रिभुवन आर्मी क्लबका खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रतियोगितामा सहभागिताका लागि शनिबार पूर्वराष्ट्रिय फुटबल खेलाडी एवं नेपाली सेनाका अवकाशप्राप्त प्रमुख सेनानी वसन्तराज गुरूङको नेतृत्वमा ४२ सदस्यीय टोली भारतीय वायु सेनाको विमानमार्फत त्यसतर्फ प्रस्थान गरेको हो। प्रतियोगिता सम्पन्न भएपश्चात् सो टोली भारतीय वायु सेनाको विमानमार्फत नै स्वदेश फिर्ता हुनेछ।

साउन ८ गतेदेखि सुरू प्रतियोगिता भदौ १७ गतेसम्म सञ्चालन हुनेछ। उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका ‘ए’ लेभल फुटबल क्लबहरू दिल्ली फुटबल क्लबसँग ९ अगस्ट, चेन्नई फुटबल क्लबसँग १४ अगस्ट र हैदराबाद फुटबल क्लबसँग २२ अगस्टमा प्रतिस्पर्धा गर्नेछ।

उक्त प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई शुक्रबार बलाधिकृत रथी सरोजप्रताप राणाले जंगी अड्डामा एक कार्यक्रमका बीच बिदाइ गरेका थिए। सोही कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले प्रधानसेनापति प्रभुराम शर्माको अभिप्रायअनुरूप सम्पूर्ण खेलाडी तथा अफिसियलहरूलाई उत्कृष्ट खेल प्रदर्शनका साथै उच्च अनुशासन कायम गर्न निर्देशन दिएका थिए।

यस प्रतियोगिताबाट त्रिभुवन आर्मी फुटबल क्लबले भारतका प्रतिष्ठित फुटबल क्लबहरूसँग प्रतिस्पर्धा गर्दा आत्मभरोसामा वृद्धि भई निकट भविष्यमा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तयारीका लागि मद्दत पुग्नुका साथै अनुभव बटुलेर भविष्यमा एउटा उत्कृष्ट टिम निर्माण गर्न थप सहज हुने अपेक्षा सेनाले लिएको छ।

यस किसिमका खेलकुद प्रतियोगिताहरूमा हुने सहभागिताले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सहायक सिद्ध मात्र नभई नेपाली सेना र भारतीय सेनाबीचको मित्रता तथा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने कार्यका लागि कोसेढुंगा सावित हुने विश्वास सेनाको छ।