
काठमाडाैं । भारत सरकारकाे आर्थिक सहयाेगमा निर्माण हुन लागेकाे धनगढीस्थित नेपाल प्रहरी विद्यालयकाे बहुउद्देश्यीय हल, छात्रावास र शिक्षक भवनसहितकाे भवनकाे बुधबार उद्घाटन भएकाे छ ।
भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्रीमती पूर्णा जोशीले उक्त भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरुको उपस्थिति थियो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘India@75 आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।
भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ४ करोड २२ लाख ६० हजार रुपैयाँको लागतमा यी नयाँ भवनहरुको निर्माण भएका हुन् । सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा हाल ६६५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । ती परियोजनाहरु मध्ये कैलाली जिल्लाका ८ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा परियोजना रहेका छन् ।
यसको अलावा, भारत सरकारले कैलाली जिल्लाका लागि ८ वटा एम्बुलेन्स र ७ वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।