भारतका‍े सहयोगमा पुनर्निर्मित चन्द्रागिरीमा रहेको विष्णुदेवी माविको भवन उद्घाटन

काठमाडौं । चन्द्रागिरिमा रहेको विष्णुदेवी माध्यमिक विद्यालयकाे पुनर्निर्मित भवन उद्घाटन गरिएको छ । काठमाडौंको चन्द्रागिरिस्थित विष्णुदेवी माध्यमिक विद्यालयकाे भवन भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण गरिएको हो ।

भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा नवनिर्मित विद्यालय भवनको बुधबार भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष घनश्याम लुईटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक डिल्लीराम लुईटेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग र केन्द्रीय भवन अनुसन्धान संस्थान रुड्कीका प्रतिनिधि लगायत अन्यको उपस्थिति रहेको थियो ।

नेपाल सरकारको भूकम्प उत्थानशील पुनर्निर्माण मापदण्ड अनुरुप करिब ६.९ करोड लागतमा यस विद्यालय भवनको निर्माण गरिएको हो । यस नवनिर्मित संरचनामा दुइवटा ब्लक रहेका छन् जसमा १३ वटा कक्षाकोठा, प्रशासनिक कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रयोगशाला आदि रहेका छन् ।

यो बालमैत्री, लैङ्गिकमैत्री र अपाङ्गमैत्री भूकम्प प्रतिरोधी संरचनाले ५ सय जना भन्दा बढी विद्यार्थीलाई लाभान्वित तुल्याउनुका साथै प्रभावकारी सिकाइ वातावरण प्रदान गर्नेछ ।

यो विद्यालय भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान रकम ५० मिलियन अमेरिकी डलर अन्तर्गत नेपालका आठ जिल्लामा निर्माण भइरहेका ७१ शैक्षिक संस्थामध्येकै एक हो । यी ७१ शैक्षिक संस्थामध्ये ६५ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ६ वटा पनि छिट्टै सम्पन्न हुने भएको छ ।

यस परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल पुर्‍याएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१