काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरभित्र क्रिकेट कोच उत्पादन गर्ने बताएका छन् । बालेनले ५० जना नयाँ क्रिकेट प्रशिक्षकलाई तालिम दिई सहरभरका खेलाडी बन्न इच्छुकलाई तालिम दिइने बताएका छन् ।
प्रमुख शाहले एसियन क्रिकेट कप अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेपछि क्रिकेट विकासबारे चासो देखाएका छन् । उनले हेरेर आएपछि सामाजिक सञ्जालमा काठमाडौं महानगर वा आसपासमा सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला बनाउने जिकिर गरेका थिए ।
शुक्रबारपनि सामाजिक सञ्जालमार्फत काठमाडौंमा खेल्ने वातावरण नभएको उल्लेख गरेका छन् । उनले नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्कासंगको फोटो सार्वजनिक गर्दै लेखेका छन् ‘पारस खडका , ज्ञानेन्द्र मल्ल , पृथु बास्कोटा पछि काठमाडौँबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन । कारण काठमाडौँमा खेल्ने वातावरण नै नभएर हो ।’
शाहले स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने स्थानीय सरकारको दायित्व रहेको बताएका छन् । सोही अनुरूप महानगरले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्न लागेको बताए ।
क्रिकेट सिकाउन प्रशिक्षकको अभाव रहेको र ५० नयाँ प्रशिक्षक अभाव परिपूर्ति गर्न उत्पादन गरिने उल्लेख गरेका छन् । ‘बाग्मती प्रदेश भित्र लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै रहेका छन् । प्रशिक्षक र खेलाडीको अनुपातलाई हेर्दा यो निकै कम हो । यस खाडललाई सम्बोधन गर्न, हामीले वाग्मती क्रिकेट सङ्घको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल ० क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्दै छौ । जस अन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने छ ।’ उनले लेखेका छन् ।
यस्ता कार्यक्रमले युवाहरूलाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने, ट्यालेन्ट पूलः क्रिकेट प्रतिभाको संख्या बढाइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने उनको विश्वास छ ।