
काठमाडौं । भारतीय राजदूतावास अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा सम्पर्क (भारत–नेपाल एलम्नाई सञ्जाल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंकाे र्याडिसन हाेटलमा अन्तर्क्रिया कार्यक्रम गरेकाे छ ।
‘महिलाको राजनीतिक सहभागिता : चुनौति र समाधानका बाटाहरु’ विषयक अन्तर्क्रिया कार्यक्रम गरिएकाे हाे । अन्तर्क्रियामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले सबै उपमेयरलाई स्थानीय तहको चुनावमा मेयरको उम्मेदवार बनाउन दलहरुसँग अग्रह गरिन् । त्यसका लागि आफ्नो पार्टी नेपाली कांग्रेसले पहल थाल्ने पनि उनले बताइन् ।
महिलाहरुले प्रत्यक्ष चुनाव जित्न सक्दैन भन्ने मानसिकता पनि अब त्याग्नुपर्ने उनले बताइन् । उनले भनिन्, ‘सीता र सावित्रीको भूमिकामा बसेरमात्रै भएन महिलाहरुले राजनीतिमा दूर्गा र कालीको शक्ति देखाएर सक्षम बन्नुपर्छ।’
अन्तर्क्रियामा नेपालका वरिष्ठ राजनीतिक नेतृ देउवासहित, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सांसदहरु डा. बिन्दा पाण्डे र पुष्पा भुषालको सहभागिता रहेकाे थियाे ।
छलफलमा उनीहरुले वक्ताहरुले राजनीतिक वृत्तमा महिलाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरी महिला हकलाई उजागर गर्न गर्नुपर्ने प्रयासबारे चर्चा गरे ।
उनीहरुले वर्तमान समयमा महिला नेतृत्वको खाँचो भइसकेकाले नीति निर्माणको क्षत्रमा महिलाको प्रतिनिधित्व एवम् सहभागितालाई थप विस्तार तथा सुनिश्चित गर्न महिलासम्बन्धि कानुनी प्रावधानको कार्यान्वयन गर्नुपर्नेमा पनि जाेड दिए ।