
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालमा आफूले चाहेमा नाकाबन्दी लगाउन सक्ने बताएका छन् । मंसिर ७ (भोलि) गते काठमाडौं केन्द्रित आन्दोलनको पूर्व सन्ध्यामा आज प्रसाईंले यस्तो चेतावनी दिएका हुन् ।
बुधबार काठमाडौं स्थित उनको निजी निवासमा पत्रकार सम्मेलन गर्दै उनले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।
प्रसाईंको नेतृत्वमा हुने आन्दोलनमा सहभागि हुन देशका विभिन्न ठाउँबाट काठमाडौं आउने मानिसलाई रोक लगाएको भन्ने प्रश्नमा उनले देशमा नाकाबन्दीको अवस्था सिर्जना गर्ने बताएका हुन् । उनले त्यतिमात्र होइन काठमाडौंका जनताले भात खान नपाउने गरी नाकाबन्दी गर्ने चेतावनी दिएका हुन् ।
उनले भने ‘हामीलाई जिस्काउने कोशिश गर्ने, काठमाडौंका मान्छेले भात खान पाउँदैन । काँकडभिट्टा, विराटनगर, विरगञ्ज सबै नाका बन्द गर्दिन्छौँ । काठमाडौं होइन् नि हाम्रो लक्ष्य ।’
आन्दोलनमा आउन चाहनेलाई आउन नदिएको पाइएमा सिमानाकामानै आन्दोलनको कार्यक्रम गर्ने जनाएका छन् । ‘हाम्रा मान्छेलाई यहाँ (काठमाडौं) आउन दिइएन भने त्यहाँ (सिमानाका) जान्छन् र त्यहीँ कार्यक्रम गर्छन् । त्यो पनि हाम्रो योजना छ’ उनले भने ।
हेक्का रहोस् आठ वर्ष अघि २०७२ सालमा नेपालले जारी गरेको नेपालको संविधान, २०७२ प्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाएको थियो । यसको झ–झल्को दिनेगरी उनले नाकाबन्दी लगाउने विषय कतै भारतको समर्थनमा उत्प्रेरित अभिव्यक्ति त होइन ? भन्ने आशंका पनि आम जनमानसमा पैदा भएकाे छ ।
प्रसाईंले एक अन्तर्वार्तामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी राम्रो लाग्ने बताएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सम्बन्धलाई लिएर पनि यसअघि चर्चा भएकाे थियाे ।