एक महिने अभियान सकेपछि कांग्रेसले चुनावी गठबन्धनबारे निर्णय लिने

काठमाडाैं । नेपाली कांग्रेसले यही फागुन २९ गतेदेखि थालिने एक महिने अभियान सकेपछि मात्रै चार दलीय गठबन्धनबारे निर्णय लिने भएको छ ।

अभियान सुरु गर्नेबारेमा बुधबार पार्टी कार्यालय सानेपमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले यसबारे जानकारी दिएका हुन् ।

खड्काले ३० वैशाखको स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताए । केन्द्रीय समिति बैठकले निर्णय नगर्दासम्म कांग्रेसका कार्यकर्तालाई गठबन्धनको विषयमा कुनै निर्देशन वा आग्रह नगरिने उनले बताए ।

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रीत फागुन २९ देखि सुरु हुने निर्वाचन अभियानको कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेसले घर–घर जाऔं, कांग्रेस जिताऔं अभियानको कार्यतालिका र उदेश्य सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत्तले सबैको काँधमा भारी, सबैको काँधमा जिम्मेवारी भन्ने नारासहित सबै नेता, कार्यकर्तालाई आवश्यक जिम्मेवारी दिने बताए । उनले फागुन २९ देखि चैत २९ सम्म चल्ने अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिए ।

अभियान अन्तर्गत कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने, एमसीसीका बारेमा जनतालाई जानकारी गराउने योजना कांग्रेसको छ । त्यस्तै, केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने र आफ्नो समिति अन्तर्गतका पदाधिकारी र सदस्यहरुलाई सम्बन्धित वडामा अथवा आवश्यकता अनुरुप फरक–फरक वडामा परिचालन गरिने प्रवक्ता महतले बताए ।

अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिने र समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पस्चातको प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिने उनले जानकारी दिए ।

अभियान अन्तर्गत नै भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो संगठनको प्रकृति अनुसारको संरचना, स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने कांग्रेसले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१