रवि लामिछानेकाे राजनीतिक प्रतिवेदन : सबै दलले चुनाव नै ताक्ने हाे भने मध्यावधिमा जाऔँ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यावधि चुनावको प्रस्ताव गरेका छन् ।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा लामिछानेले राजनीतिक प्रस्ताव पेस गर्दै बाँकी तीन वर्ष काम नगरी चुनाव नै ताक्ने हो भने मध्यावधिमा जान दलहरूलाई चुनौती दिएका हुन् ।

‘एकातिर मुलुक झन्झन् उँधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने, त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने ? सकेसम्म सबै पुराना दलहरू मिलेर मिसन ८०, ८१, ८२, ८३ बनाउन सके प्रतिपक्षी भूमिका हामी निभाउँछौं’ उनले भनेका छन् । २०८४ को मिसनमा अरू दल पनि पछाडि लागेको उनकाे आराेप छ ।

अहिलेकाे व्यवस्था नभएको र पुराना दल संकटमा रहेकाे दाबी पनि लामिछानेको छ । मध्यावधिका लागि पार्टी तयार भएर बस्नुपर्ने उल्लेख गर्दै नेता कार्यकर्तालाई उनले निर्देशन समेत दिएका छन् ।

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ । पार्टीको सबै संरचनालाई ‘स्ट्यान्ड बाई’ रहन निर्देशन दिन्छु,’ प्रतिवेदनमा भनिएको छ ।

लामिछानेले प्रदेश संरचना परिवर्तन अत्यावश्यक रहेको पनि प्रतिवेदनमा औंल्याएका छन् । ‘प्रदेश संरचनाबारे नागरिकको धारणा र असन्तुष्टिमा हामीले पनि बारम्बार आवाज उठाइरहेका छौं । प्रदेश संरचना परिवर्तन अत्यावश्यक छ,’ प्रतिवेदनमा भनिएको छ । प्रदेशले आफ्नो उपदेयता पुष्टि गर्न नसक्दा आम नागरिकमा प्रदेश संरचनाप्रति असन्तुष्टि बढेको उनको ठहर छ ।