
बंगुरको मुटु राखेर झन्डै दुई महिना बाँचेका पुरूषको निधन भएको छ ।
द न्युयोर्क टाइम्सका अनुसार गत पुसमा बंगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय डेभिड बेनेटको मंगलबार युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा निधन भएको हो । बंगुरको मुटु प्रत्यारोपण गर्ने चिकित्सकहरूले के कारणले मृत्यु भयाे भन्ने सन्धर्भमा भने अनुसन्धानपछि मात्रै यसबारे प्रतिक्रिया दिने बताएका छन् ।
उपचार गरिएका बेनेटको दुई महिनापछि मृत्यु भए पनि उनमा भएको बंगुरको मुटु प्रत्यारोपणलाई वैज्ञानिकहरूले भने त्यसलाई विज्ञानको फड्को मानेका छन् । वैज्ञानिकहरुका अनुसार घटना घटेपनि मुटु प्रत्यारोपण क्षेत्र एक कदम अगाडि बढेकाे उनीहरूको बिस्वास छ ।
हप्तौंदेखि अस्पतालमा रहेका मेरिल्यान्डका बेनेट मुटुसम्बन्धी समस्याका कारण उपचारका लागि चिकित्सकहरूले सबै विधि अपनाएका थिए । मान्छेको मुटुसमेत प्रत्यारोपणका लागि अयोग्य ठहरिएका बेनेटको स्वास्थ्य एकदमै कमजोर रहेकाे थियो
अहिले पनि अमेरिकामा १ लाख ६ हजारभन्दा बढी मानिसहरू विभिन्न अंग प्रत्यारोपणका लागि कुरिरहेका छन् । अर्गान डोनर डट जिओभीका अनुसार मुटु, कलेजो, किड्नीलगायत अंगहरू नपाएर दैनिक १७ जना मानिसले ज्यान गुमाउँछन् ।
त्यस्तै बेनेटका हकमा भने मान्छेको मुटु प्रत्यारोपण गर्ने विकल्प पनि बाँकी थिएन । तर उनी बाँच्न चाहन्थे। उनको बाँच्ने जिजिविषा देखेरै चिकित्सकहरूले नयाँ विकल्प सुझाए, बेनेटमा बंगुरको मुटु प्रत्यारोपण गर्ने । गत अक्टुबरमा चिकित्सकहरूले ‘ब्रेन डेथ’ भइसकेकी महिलामा बंगुरको किड्नी प्रत्यारोपण गरेका थिए।
मान्छेमा जनावरका अंगहरू प्रत्यारोपण गर्न थालिएको धेरै पहिलादेखि हो । जनावरका अंग मानवमा प्रत्यारोपण गर्नुलाई जेनोट्रान्सप्लान्टेसन भनिन्छ ।सन् १९६० को दशकमा केही मानिसहरूमा चिम्पान्जीका किड्नी प्रत्यारोपण गरिएका थिए। चिम्पान्जीको किड्नी राखेका एकजना मान्छे नौ महिनासम्म बाँचेको थिए । अरू त्यो भन्दा कम समयमै बितेका थिए । सन् १९८३ मा बेबी फाय नामकी बालिकामा बबुनको मुटु प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि उनी २० दिनभन्दा बढी बाँचिनन् ।
यसअघि वैज्ञानिकहरूले बंगुरका मुटु ५० वटा बबुनमा प्रत्यारोपण गरेका थिए । पछिल्लो समय वैज्ञानिकहरूले बंगुरका अंगहरूलाई मानव शरीरले स्वीकार्ने सम्भावना बढी भएको पत्ता लगाएका थिए । बंगुरको मुटुका भल्भहरू मान्छेको मुटुमा राख्ने क्रम त पछिल्लो समयमा निकै बढेको छ । बंगुरहरू हुर्काउन पनि सहज हुने र ६ महिनामै उसका अंगहरू वयस्क मानिसका लागि सुहाउँदा हुने भएकाले पनि वैज्ञानिकहरूले बंगुरमा जोड दिएका थिएल । बेनेटको शरीरमा मुटु प्रत्यारोपण गर्न लागिएको बंगुर जेनेटिक इन्जिनिरिङबाट तयार पारिएको थियो ।
भर्जिनियाको ब्लाक्सबर्गस्थित रिभाइभिकर कम्पनीले उक्त बंगुर तयार पारेको थियो। मानव शरीरमा बंगुरको मुटुले राम्ररी काम गरोस् भनेर बंगुरमा १० वटा जेनेटिक परिवर्तनहरू गरिएको थियो। बंगुरमा हुने चार वटा जिनलाई निष्क्रिय पारिएको थियो भने मानव शरीरले बंगुरको मुटु सहजै स्वीकारोस् भनेर मान्छेका छ वटा जिन बंगुरमा राखिएको थियो।
निष्क्रिय पारिएको बंगुरको जिनमध्ये एउटा मानव शरीरमा आक्रामक रूपमा अस्वीकार हुने अणु बनाउने थियो भने अर्को मुटु मानवमा प्रत्यारोपण गरिसकेपछि पनि आकार नबढोस् भनेर गरिएको थियो।