
काठमाडाैं । गाजा क्षेत्रमा इजरायलले आक्रमण पूर्ण रुपमा अन्त्य नगरेसम्म हमासले बन्धक बनाइएका थप मानिस मुक्त नगर्ने जनाएकाे छ ।
गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमण र घुसपैठका क्रममा अपहरणमा परेको भनिएका २४० जनामध्ये १२० जना अझै बन्धक रहेको ठानिएको छ ।
हमासबाट बन्धक बनाइएका ठानिएका नेपालको कञ्चनपुरका विद्यार्थी विपिन जोशीको अवस्था अझैसम्म अज्ञात छ । यसअघि युद्धविरामका क्रममा थाइल्यान्ड, फिलिपिन्स सहितका केही विदेशी बन्धकलाई रिहा गरे पनि नेपालका नागरिक रिहा भएका छैनन् ।
सरकारले इजरायल-हमास युद्ध रोक्न मध्यस्थता गरिरहेका कतार, इजिप्टसहितका देशहरूमार्फत् जोशीको रिहाइका लागि पहल भइरहेको जनाएको छ ।
यसअघि इजरेली फौजले गाजाको एउटा अस्पतालको सीसीटीभी क्यामरामा कैद गरिएको भिडिओमा नेपाली बन्धक पनि देखिएको उल्लेख गरेको थियो ।