• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रतिबद्धता पूरा नगर्ने मन्त्रालयकाे मन्त्री फेरेरै भए पनि कामलाई गति दिन्छु : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवद्धता गरेअनुसारका काम नभएका मन्त्रालयमा मन्त्री फेरेर भएपनि कामलाई गति दिने बताएका छन् ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार मोरङको मिक्लाजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रालयले गरेका कामहरूबारे आफूले लगातार जानकारी लिइरहेको बताउँदै प्रतिबद्धता अनुसारका काम नगर्ने मन्त्रालय पनि रहेको बताएका हुन् ।

‘मन्त्रीहरूलाई बोलाएर के-के गरिरहेको छ भनेर जानकारी लिएको छु। प्रतिबद्धता गरेका काम पनि गरेका छैनन्,’ उनले भने, ‘त्यस्ता मन्त्रालयमा मन्त्री फेरेर भएपनि कामलाई गति दिनेतिर प्रतिबद्धता व्यक्त गरेको छु।’

प्रधानमन्त्री प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री बनेको पहिलो वर्ष सकिएपछि नयाँ ढंगले काम सुरू गर्ने पनि बताएका छन् ।

पहिलो वर्षमा सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको उनले बताए ।

‘११ गतेबाट नयाँ ढंगले विकास निर्माण र जनताको सेवाका काम अगाडि लैजाने प्रतिबद्धता छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।