राजधानी किभतर्फ अघि बढ्याे रुसी फाैज

काठमाडाैं । रुसी फौजको एउटा लस्कर किभनजिक पुनः तैनाथ भइरहेको भूउपग्रह तस्विरबाट देखिएको बीबीसीले जनाएकाे छ ।

म्याक्सआर टेक्नोलोजिजका अनुसार आसपास नगरका तैनाथी क्षेत्रतर्फ रुसी लस्कर बढिरहेकाे छ । त्यो लस्कर यसअघि एन्टोनोभ विमानस्थलनजिक पश्चिमोत्तर क्षेत्रमा देखिएको थियो ।

गएकाे सातादेखि नै रुसी सेनाकाे फाैज राजधानी किभतर्फ बढिरहेकाे समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेकाे थियाे । करिब ६४ किलाेमिटर लामाे भनिएकाे उक्त फाैजकाे लस्कर युक्रेनकाे राजधानीतर्फ गइरहँदा युक्रेनसहित विश्वभर नै त्रास फैलिएकाे थियाे । तर उक्त फाैज राजधानी किभतर्फ जान राेकिएकाे थियाे ।

२ सातादेखि रुस र युक्रेनबीच युद्ध भइरहेकाे छ । युक्रेनी सरकारले रुसी सेनाले युद्ध अपराध गरेकाे पनि जनाइरहेकाे छ । युक्रेनले रुसी सेनाहरुले पटक-पटक युद्ध विरामकाे नियम पालना नगरेकाे पनि रुसी सेनामाथि आराेप लगाइरहेकाे छ ।

याे पनि : किन राेकियाे किभतर्फ अघि बढिरहेकाे ६४ किलाेमिटर लामाे रुसी सेनाकाे लस्कर ?

यसैबीच, अमेरिकी सहयोगमा युक्रेनले रासायनिक अथवा जैविकअस्त्र विकास गरिरहेको भन्ने रुसी दाबीप्रति युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रोश पोखेका छन् । उनले एक भिडियाे सन्देश जारी गरी आक्राेश पाेखेका हुन् ।

रूसमा बनेका पोल्याण्डका मिग-२९ युद्ध विमान युक्रेनलाई दिने प्रस्तावबाट पनि अमेरिका पछि हटेको छ । अमेरिकाले पोल्याण्डको प्रस्ताव इन्कार गरेको संचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकाले केही समयदेखि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको आग्रहमा युद्ध विमान युक्रेन पठाउने विषयमा पहल गरिरहेको थियो ।

पहिलेको वार्सा संगठनको सदस्य र अहिले नेटोको सदस्य राष्ट्र पोल्याण्डसँग रहेका रूसका युद्ध विमान युक्रेनलाई पठाउने सम्बन्धमा अमेरिकाले केही समयदेखि पोलिस सरकारसँग कुरा गरिरहेको थियो ।

मिग-२९ विमान युक्रेनी पाइलटहरुले सजिलै र विनाप्रशिक्षण उडाउन सक्ने भएकाले युक्रेनले रुससँग युद्ध लड्न ती विमानहरुको माग गरेको थियो ।

-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुकाे सहयाेगमा ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१