काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले जनता र विकासको मुद्दा संसदमा दह्रोसँग उठाउने बताएका छन् ।
मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले २८ मंसिरमा सफाइ दिएको थियो ।
संसद सचिवालयले छिट्टै आफ्नो निलम्बन फुकुवाको निर्णय दिने विश्वास व्यक्त गर्दै उनले अब संसदमा आफ्नो भूमिका देखाउने बताए ।
आफ्नो स्वभाव र विचारधारा स्वतन्त्र जस्तो भए पनि पार्टीको नीति अनुसार चल्ने पनि उनको प्रतिवद्धता छ ।
२०७७ सालमा जनकपुर उच्च अदालतले फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
चुनाव जितेपछि ७ पुस २०७९ मा प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सहभागी भएका कोइरी २५ पुसमा बसेको प्रतिनिधिसभाको पहिलो बैठक र २६ पुसको दोसो बैठकमा उपस्थित थिए ।
फरार सांसद संसदमा उपस्थित भएको भनी प्रश्न उठेपछि कोइरी सम्पर्कविहीन थिए ।
प्रतिनिधि सभाको पहिलो अधिवेशनमा कोइरीको अनुपस्थितिको सूचना स्वीकृत हुन सकेको थिएन ।