काठमाडौं । एमाले सांसद लक्ष्मी महतो कोइरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएसँगै सांसद पदको निलम्बनबाट फुकुवा भएका कोइरीले सोमबार बिहान अध्यक्ष ओलीलाई भेटेका हुन् ।
ओली निवास बालकोट पुगेका सांसद कोइरीलाई ओलीले बधाई एवं शुभकामना दिँदै सगुनसमेत दिएका थिए ।
कोइरीमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेपछि त्यसको मुद्दा चलेकै समयमा महोत्तरी–१ बाट उनी नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए । निर्वाचित भएर सांसदको शपथ लिए पनि पछि सदनमा प्रश्न उठेपछि उनको सांसद पद निलम्बन भएको थियो ।
मंसिर २८ गते सर्वोच्चले उनलाई ज्यान मुद्दामा सफाइ दियो। अदालतबाट सफाइ पाएसँगै उनले संसद् सचिवालयमा आफ्नो निलम्बन फुकुवा गर्न निवेदन दिएका थिए । उक्त निवेदन र अदालतको पत्रका आधारमा सांसद कोइरीलाई संसद् सचिवालयले निलम्बन फुकुवा गरिसकेको छ ।