चार्जमा राखेकाे एमजीको इलेक्ट्रिक गाडीमा आगलागी

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा चार्जिङमा राखिरहेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ ।

गत ९ पुसमा सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेको छ ।

चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको प्रहरी स्राेतले जनाएकाे छ । कम्पनीका प्रतिनिधि र सवारी धनीकै अगाडि आफूहरुले मुचुल्का उठाएको पनि प्रहरीले बताएको छ ।

सवारी धनी सुदीप लामिछानेले साँझ ६ बजे चार्जमा हालेर छोडेको गाडीमा राती १ बजे आगलागी भएको बताए । तर, यस विषयमा आफू थप नबोल्ने उनकाे प्रतिक्रिया छ ।

एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सलेसमेत यस विषय बोल्न चाहेको छैन भने यसबारेमा कम्पनीले आन्तरिक अध्ययन गरिरहेको बताइएको छ ।

कम्पनीले आफ्नो बचाउ गर्दै चार्जिङका क्रममा गडबडी भएर आगलागी हुनै नसक्ने जिकिर गर्दै आएको छ ।