रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणबाट १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेण्टी भएको बताएका छन् । बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहिद स्तम्भ उद्घाटन तथा शहिद परिवार सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएपछि यस्तो बताएका हुन् ।
बिहीबार दिउँसो सिंहदरबारमा ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका थिए ।
प्रधानमन्त्री दाहालले भने, ‘भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेण्टी भएको छ । सम्झौता नेपाल – भारत र बंगलादेशसँग पनि विद्युत् व्यापार गर्न कोशेढुङ्गा सावित हुनेछ ।’
प्रधानमन्त्री दाहाल गत जेठमा भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा सहमति भएको थियो ।
रामेछाप जानुअघि प्रधानमन्त्री दाहाल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेट भएको थियो । भेटका क्रममा उनीहरूबीच द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैगरी प्रधानमन्त्री दाहालले जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताएका थिए । कार्यक्रममा प्रधानमन्त्रीले भने,’जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह थियो । त्यतिबेला हामीसँग ठूलो शक्ति थिएन,तर महान् विचार थियो,ऐतिहासिक लक्ष्य थियो । त्यसका आधारमा नेपालको क्रान्तिले गुणात्मक उचाइ प्राप्त गर्यो । त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको हो ।’
प्रधानमन्त्रीले वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ छ ।