
काठमाडाैं । युक्रेनको राजधानी सहर किभको मध्यभागबाट २५ किलोमिटर टाढा ठूलो संख्यामा रुसी सैनिकहरु भेला भएका छन् ।
बेलायतको रक्षा मन्त्रालयका अनुसार किभको उत्तरतर्फ लामो लस्कर लागेर बसेका सैन्य गाडीहरु अहिले छरिएका छन् । राजधानी किभलाई चारैतिरबाट घेर्ने योजनामा अघि बढिरहेको हुन सक्ने बेलायतको रक्षा मन्त्रालयले अनुमान गरेकाे समाचार बीबीसीले लेखेकाे छ ।
मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा युक्रेनको प्रतिरक्षा शक्ति कमजोर पार्ने प्रयासस्वरुप रुसी सेनाले यस्तो निर्णय गरेको हुन सक्ने उल्लेख छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार अहिले युक्रेनका चेर्निहिभ, खारकिभ, मारिउपोल र सुमीलाई घेरा हालेर रुसी सेनाले निरन्तर आक्रमण गरिरहेको छ ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीका पूर्व सल्लाहकार रहेका सबभन्दा कान्छा सांसद स्भियातोस्लाभ युराले किभ शहरमा रुसी प्रतिरोध गर्ने तयारी भइरहेको बताएका छन् ।
राजधानी किभमा रातभर रुसी रकेट प्रहार भएको र बाहिरी क्षेत्रमा युद्ध भइरहेको जानकारी दिएका छन् । रुसी फौज शहर भित्र छिर्यो भने ठूलो क्षति बेहोर्न रुस तयार रहनुपर्ने चेतावनी पनि उनले दिएका छन् ।
युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन शनिबार सबेरै निकोलेभ, निप्रो र क्रोपीभीन्टस्की शहरमा बम विस्फोट भएका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन् ।