युक्रेनको राजधानी किभ छेउमै पुग्यो रुसी सेना, मेयरको अपहरण, भीषण गोलाबारी

काठमाडाैं । युक्रेन आक्रमण गरिरहेको रुसी फौज राजधानी किभ नजिकै पुगेको छ । राजधानी किभ रुसी सेनाको घेराबन्दीमा परेको राष्ट्रपतिका सल्लाहकारले जनाएका छन् । रुसी फौज दक्षिणी युक्रेनको मेलिटोपोल शहरतर्फ बढेको र त्यस शहरका मेयरलाई नियन्त्रणमा लिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

‘दश जनाको समूहले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपहरण गरेको छ,’ युक्रेनको संसदले ट्वीटरमा भनेको छ, ‘उनले दुष्मनसँग सहयोग गर्न अस्वीकार गरे ।’

दक्षिणी बन्दरगाह शहर मारिओपोलमा रुसी सेनाले भीषण हमला गरेका छन् । रुसी फौजले घेरा गरेको सो शहरमा निरन्तर गोलाबारी र बम हमला भएका छन् । मारिओपोलमा हरेक ३० मिनेटमा गोलाबारी भइरहेको सो शहरका मेयरले बताएका छन् । सो शहरमा १२ सय जनाको मृत्यु भइसकेको छ ।

खाद्यान्नको अभावमा मानिसहरु भोकभोकै बाँच्न बाध्य भएका छन् । शहरका सडकमा मानिसका शव यत्रतत्र छरिएका विवरण समेत सार्वजनिक भएका छन् । मारिओपोलमा बिगत ११ दिनदेखि पानी र बिजुली नभएको स्थानीयले बताएका छन् ।

रुसी सेनाले तीनवटा क्षेप्यास्त्रहरूले शुक्रबार मध्य शहर डिनिप्रोमा नागरिक भवनमा प्रहार गरेका थिए । हमलामा एउटा जुत्ता कारखाना ध्वस्त हुनुका साथै एक जना एक सुरक्षा गार्डको मृत्यु भएको थियो ।

रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेदेखि छिटपुट हमलामा परेको डिनिप्रोलाई यसअघि सुरक्षित आश्रय मानिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१