काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने र छलफलमा एमसीसी फेल भए आफूले पार्टीबाट राजीनामा दिने बताएका छन् ।
पार्टीको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग एमसीसीबारे पार्टीभित्र चुनावपछि छलफल हुने र उक्त छलफलबाट एमसीसी फेल भए आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने घोषणासमेत गरे ।
उनले भने, ‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला ।’
उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिए ।
उनले आफ्नै संगठन बलियो बनाएर पार्टी चुनावमा जाने पनि जानकारी गराए । तर, स्थानीय तहमै तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने उनको धारणा छ ।