• २०८३ असार १६
  • 2026 June 30, Tuesday

गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपील

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपील गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेताहरुले संयुक्त अपील जारी गर्दै सो निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग लेखकले भने, ‘राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवार सबैको साझा उम्मेदवार हुन र सबैले मतदान गरेर जिताउनका लागि भनेर आह्वान गर्ने काम भएको छ ।’

संयुक्त अपीलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नाउपा अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि भएको भन्दै नेताहरुले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको संयुक्त अपीलमा उल्लेख गरेका छन् । आगामी माघ ११ मा १९ वटा रित्त पदका लागि राष्ट्रिय सभा निर्वाचन हुँदैछ ।