• २०८३ असार १६
  • 2026 June 30, Tuesday

निर्माण व्यवसायीहरुको आठ अर्ब रुपैंयाँ भुक्तानी गर्ने तयारी

काठमाडौं । नेपाल सरकारको तर्फबाट निर्माण व्यवसायीहरूलाई गर्नुपर्ने आठ अर्ब रुपैयाँ तुरुन्तै भुक्तानी हुने भएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकक्ष सिंहदरबारमा भएको छलफलपछि निर्माण व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया आजै(आइतबार)अगाडि बढाउने निर्णय भएको हो ।

छलफलपछि प्रधानमन्त्रीले निर्माण व्यवसायीको गत आर्थिक वर्षको भुक्तानी गर्न बाँकी रू १ अर्ब ७१ करोड र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व गरी रू.६ अर्ब ३० करोड तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा.बैकुण्ठ अर्याल, अर्थसचिव डा.कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको सरोकारवाला पक्षको छलफलपछि आजै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो ।

प्रधानमन्त्रीको निर्देशनपछि अर्थ मन्त्रालयले भुक्तानीको प्रक्रिया अगाडि बढाउनेमा सहमत भएको छ । सरकारको यो निर्णयसँगै विकास निर्माणका कामले गति लिने र अर्थतन्त्र थप चलायमान हुने अपेक्षा व्यवसायीको छ ।