सिन्धुलीमा जन्ती बोकेको टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । सिन्धुलीमा जन्ती बोकेको टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार राति दुधौली नगरपालिका-५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

सिन्धुलीकाे बाडेगाउँबाट बेहुली लिएर उदयपुरको कटारी जान लागेकाे ना ३ ख ७४९० नम्बरको टिपर दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा उदयपुर कटारी नगरपालिका घर भएका २४ वर्षीय अजय दनवार र १९ वर्षीय दिपेन्द्र कुँवरको मृत्यु भएको हो ।

टिप्परमा चालकसहित २८ जना सवार थिए । दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन् । घाइतेको उपचारको लागि दुई जनाको दुधौलीस्थित अस्पताल, चार जनालाई काठमाडौं र ८ जनालाई विराटनगर पठाइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१