• २०८३ असार १६
  • 2026 June 30, Tuesday

सरकार संस्थागत र नीतिगत भ्रष्टाचारमा लिप्त छ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार कुन योजनाबाट धेरै कमिसन आउँछ । त्यही योजनालाई मात्र अघि बढाउन तल्लिन रहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान सरकार संस्थागत र नीतिगत भ्रष्टाचारमा लिप्त हुँदै राजनीतिलाई कमाई गर्ने पेसा स्थापित गर्न खोजिएको आरोप लगाए ।

उनले भने, ‘ संस्थागत रुपमा भ्रष्टाचार, नीतिगत रुपमा भ्रष्टाचार भएको छ । योग्यता र क्षमाताको आधारमा होइन, पहुँचका आधारमा राजनीतिका सुविधाहरु वितरण हुने, राजनीति भन्नु नै कमाउनु हो र राजनीति भनेको पेसा हो भन्ने कुरा स्थापित गर्न खोजिदै छ । गणतन्त्र ल्याउने दल र तिनका नाइकेहरुले यसरी राष्ट्रियताविरुद्ध धावा बोल्न थालेपछि जनमानसमा राष्ट्रियप्रति वितृष्णा पैदा नभएर के हुन्छ?’

अब हस्तक्षेप गर्ने समय आइसकेको बताउँदै उनले गणतन्त्रको १५ वर्ष राष्ट्रियतालाई कमजोर पार्न प्रयोग भएको उल्लेख गरे । कुनै पनि व्यवस्था आफैंमा साध्य नहुने उनको भनाई थियो ।

उनले भने, ‘कुनैपनि व्यवस्था आफैंमा साध्य होइन, साधन मात्र हो । गणतन्त्रको १५ वर्षको अभ्यासले यो प्रमाणित गरिसकेको छ । गणतन्त्र हाम्रो देशमा राष्ट्रियता, धर्म निरपेक्षता, संघीयता अनुपयुक्त मात्र होइन असफल रहेछ भन्ने प्रमाणित गरिसक्यो ।’