
काठमाडौं । माइतीघर मण्डलामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा खारेजीको माग राख्दै नेपाल विद्यार्थी सघंले शान्तिपूर्ण फोटो प्रदर्शन गरेको छ ।
मंगलबार माइतीघरमा भेला भएका विद्यार्थीहरुले उपत्यकाका विभिन्न ठाउँमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकोमा आपत्ति प्रकट गर्दै फोटो प्रदर्शनी गरेका हुन् । माइतीघर मण्डलामा भएका ऐतिहासिक आन्दोलनहरुलाई आधार बनाइ फोटो प्रदर्शनी गरिएको हो ।
संविधानको मर्म र कानुन विपरीत माइतीघरमा भएको निषेधाज्ञा तत्काल खारेजीको लागि शान्तिपूर्ण विरोधमा उत्रिएको नेविसंघ नेता सुशान्त आचार्यले बताए ।
माइतीघर मण्डला साथै अन्य स्थानमा प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न नपाउनेगरी निषेधित क्षेत्र तोकिदा विचार तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गरेको आचार्यको भनाइ छ ।
शान्तिपूर्ण भेला तथा प्रदर्शन गर्न पाउने नागरिकको संवैधानिक र मौलिक अधिकार भएकाले निषेधाज्ञा खारेज गर्नुपर्ने नेविसंघको भनाइ छ ।
२०६२-०६३ को जनआन्दोलनको बलमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि पीडित, नागरिक समाज तथा राजनीतिक पार्टीले स्वेच्छाचारितन्त्रका विरुद्ध एवं न्यायका पक्षमा आवाज उठाउने साझा थलोका रूपमा ’माइतीघर मण्डला’ रहँदै आएको छ ।