• २०८३ असार १६
  • 2026 June 30, Tuesday

रास्वपा संसदीय दलको बैठक बस्दै, लामिछानेले सोधेका ३ प्रश्नबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ ।

आगामी सोमबारदेखि हिउँदे अधिवेशन बोलाइएकोमा त्यसको तयारीका लागि छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनका अनुसार मुलतः बैठकमा चार वटा विषयहरूमाथि छलफल हुनेछ । बैठक विहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ ।

सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई हिउँदे अधिवेशनको तयारीका विषयमा तीन वटा प्रश्नहरू पठाएका थिए, सांसदहरूले ती प्रश्नको जवाफ समेत फर्काइसकेका छन् । शुक्रबारको बैठकमा ती प्रश्नका जवाफहरूमाथि छलफल हुने प्रमुख सचेतक परियारले जानकारी दिए ।

उनका अनुसार सभापति लामिछानेले तत्काल बन्नुपर्ने ४० कानूनहरुमध्ये सम्बन्धित समितिमा भइरहेको तयारी र छलफल, त्यसमा पार्टीका एजेण्डा समेटिए-नसमेटिएको अवस्था र आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दाका विषयमा प्रश्न सोधेका छन् ।

बैठकले आगामी अधिवेशनका लागि सबै खाले तयारी गर्ने उनले बताए ।