
काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणालीमा अधिक चाप भएपछि मंगलबारदेखि नयाँ आवेदन लिन बन्द भएकाे छ ।
यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गरी १ चैतदेखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गराएको हाे । आवेदकहरुको परीक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएको भन्दै विभागले सूचना प्रकाशन गरेको हाे ।
यातायात व्यवस्था विभागका अनुसार आवेदकको संख्या ५ लाख ७२ हजार पुगेपछि आवेदन प्रणाली बन्द गरिएको हो ।
विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले परीक्षाको व्यवस्था गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको नियन्त्रणभन्दा बहिर पुगेको छ ।
महामारीको कारण देखाएर चैत २०७६ पछि झण्डै पुस २०७७ सम्म अनुमतिपत्र बन्द थियो । झण्डै एक वर्षपछि आवेदन खुल्ला खुलेकाले अनलाइन प्रणालीमा चाप उच्च थियो । सुरुमा दैनिक कार्यालयहरुले दिएको कोटाअनुसार मात्रै फारम भर्न सकिने व्यवस्था थियो ।
त्यसैकारण विभागले ‘भिजिट मिति’ दिने गरी जति पनि फारम भर्न सकिने व्यवस्था गरेको थियो । त्यसपछि भने आवेदनको चाङ लाग्न थालेको थियो ।
त्यही अवस्थामा फेरि १६ वैशाख २०७८ देखि महामारीको दोस्रो लहरका कारण अनलाइन फारम भर्न बन्द गरिएको थियो, जुन कात्तिक महिना मात्रै खुलेको थियो । त्यसको ४ महिना नबित्दै फेरि विभागले आवेदन लिन बन्द गरेको हो ।