काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सलाई नेपालले १७३ रनको लक्ष्य दिएको छ । नेपालले कुशल भुर्तेलको अर्धशतकको सहयोगमा ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको हो ।
नेदरल्याण्ड्सले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका थिए । कुशल सातौं विकेटका रुपमा ६६ रनमा आउट भएका थिए । कुशल भुर्तेललाई नेदरल्यान्ड्सका रोइलोफ भान देर मर्वीले आउट गरे ।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपाललाई ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए । नेपालले ८.३ ओभरमा एक विकेट गुमाएर ४२ रन जोडेको थियो ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेख आउट भएका थिए । आसिफ शेखले २७ बलमा १ छक्का र दुई चौका प्रहार गर्दै १७ रनमा क्याच आउट भए । भिभियान किङमाको बलमा उनी क्याच आउट भएका थिए ।
नेपालले ५० रन जोडेको अवस्थामा दोस्रो विकेटका रुपमा अनिल शाह व्यक्तिगत ७ रनमा आउट भएका थिए । शाहलाई नेदरल्यान्ड्सका बलर भिभियान किङ्माले बोल्ड गरेका थिए । अनिलले ११ बलमा एक छक्का प्रहार गरेका थिए ।
कुशल मल्ल २ रनमा आर्यन दत्तको एलबिडब्लूको धरापमा परेपछि नेपालमाथि दबाब परेको थियो ।
चौथो विकेटका रुपमा कप्तान रोहितकुमार पौडेल १६ रन बनाएर आउट भएका थिए । आर्यन दत्तको बलमा क्याच हुनुअघि उनले २ चौका हिर्काए । रोहितले कुशल भुर्तेलसँग चौथो विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए ।
पाँचौँ विकेटका रुपमा दीपेन्द्र सिंह ऐरी १ रनमा र छैटौँ विकेटका रुपमा भीम शार्की शुन्य रनमा आउट भए । आठौं विकेटका रुपमा गुल्सन झा ५ रनमा आउट भए भने नवौं विकेटका रुपमा आरिफ शेख आउट भए । यस्तै दशौं विकेटका रुपमा ललित राजवंशी आउट भएका थिए ।
नेदरल्याण्ड्सका आर्यन दत्त र भिभयन किंग्माले समान ३–३ विकेट लिए भने बास डि लिडले २ तथा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।
जारी शृखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध भएको पहिलो खेल नेपालले ९ विकेटले जितेको थियो भने नामिबियासँग भने नेपालले दुवै खेलमा हार व्योहोरेको थियो।
नेपाली टिममा दुई परिवर्तन गरिएको थियो । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झाले खेलेका थिए ।