त्रिकोणात्मक टी–२० शृंखला : पहिलो खेलमा नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुदैँ

काठमाडौं । क्रिकेटको जगतमा अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा बटुलेको नेपाललाई पछिल्लो समय एकदिवसीय प्रतियोगिता खेल्न भ्याइनभ्याइ छ । विभिन्न एकदिवसीय प्रतियोगिता खेल्दै आएको नेपालले अब टी–२० ढाँचाको प्रतियोगिता खेल्ने भएको छ । त्रिकोणात्मक शृंखलाका लागि क्यानले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ ।

नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग टी–२० शृंखला खेल्ने भएको छ । यसअघि पनि नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग आईसीसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्र्तगतका अभ्यास खेल खेलेको थियो । नामिबिया र नेदरल्यान्ड्ससँग खेलेका जम्मा चार खेलमध्ये नेपाल तिन खेलमा हार व्योहोर्दै एक खेलमा विजयी भएको थियो ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबिचको टी–२० शृंखला मंगलबार अर्थात भोलीदेखि सुरु हुदैँ छ । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेल्न लागिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स पनि आगामी जुन १ देखि २९ तारिखसमम सञ्चालन हुने टी–२० विश्वकपमा छनोट भएकाले मंगलबारदेखि सुरु हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाका खेल खेल्न लागेका हुन् ।

त्रिकोणात्मक टी–२० शृंखलाको पहिलो चरणमा तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । पहिलो खेल मंगलबार नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुदैँ छ । खेल विहान ११ः३० बजे सुरु हुने भएको छ । नेपालले दोस्रो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।