काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले सर्वसाधारण नागरिकले बनाएका संरचनाको सुनिश्चितताबारे सरकारले ध्यान दिन आवश्यक रहेको जानकारी दिएका छन् ।
सो कुरा सांसद पराजुलीले प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा गुणस्तरहीन छडका विषयमा बताए ।
उनले सर्वसाधारण नागरिकले बनाएका संरचनामा छडजन्य सामग्रीको गुणस्तर मापन नहुने भएकाले सरकारले विशेष जोड दिएर अघि बढ्न आवश्यक रहेको विषयप्रति सरकारको ध्यानाकर्षण गराए।
उनले भने, “निर्माण प्रक्रियामा जब ठूलाठूला प्रोजेक्टहरूले त गुणस्तर मापन गर्दछन् । तर, सर्वसाधारण नागरिकहरूले बनाएका संरचनाहरूको ग्यारेन्टीको जिम्मेवारी कसले लिने ? यदि छडहरू गुणस्तरहीन छन् र बनेको संरचनाहरू साँच्चै जोखिमयुक्त छन् भने त्यसको जिम्मेवारी कसले लिने ? यो पाटोबाट पनि ध्यानाकर्षण गराउँछु।”
सबै उद्योग समान रूपमा सञ्चालनका निम्ति पहल गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए । उनले नेपालभित्रै सम्भावना भएको खानीलाई सञ्चालन गर्न कस्तो खालको उद्योग स्थापना आवश्यक हुन्छ भन्ने बारेमा छलफल हुन आवश्यक रहेको बताए।
यस्तै नेपालमा रोजगारी बढी दिन सक्ने उद्योगको सञ्चालन आवश्यक रहेकोमा उनको जोड छ ।