एमाले-माओवादीले मधेश प्रदेशमा जसपाको नेतृत्व कुनै हालतमा स्वीकार नगर्ने

काठमाडौं । काठमांडौंमा सत्ता गठबन्धन फेरिए संगै प्रदेशको सत्ता समीकरणहरू पनि फेरिन थालेकाछन् । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जसपा(जनता समाजवादी पार्टी)ले आफ्नो सरकार जोगाउन गठबन्धनमा जोडिन खोजिरहेको छ । तर, प्रदेशमा नयां गठबन्धनमा आबद्ध नेकपा एमाले, माओवादी केन्द्रले प्रदेशमा सत्ताको नेतृत्व परिवर्तन हुनै पर्ने शर्त अगाडि सारेकाछन् ।

प्रदेशका एमाले र माओवादीका शीर्ष नेताहरूका अनुसार मधेश प्रदेश सरकारको नेतृत्वमा एमाले माओवादी गठबन्धनले दाबी गर्ने छ । पहिलो चरणमा प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रलाई र आधा कार्यकाल पछि एमालेले सरकारको नेतृत्व गर्ने सहमती भएको छ ।

माओवादीका शिर्ष नेताले भने, ‘मधेशमा अब माओवादीको नेतृत्वमा सरकार बन्छ ।’ जसपाले झण्डै साढे एक वर्ष मधेश प्रदेश सरकारको नेतृत्व गरि सकेको हुनाले अब जसपालाई कुनै हालतमा प्रदेशको नेतृत्व दिन नसक्ने माओवादीको भनाई छ ।

माओवादी केन्द्र र एमालेले प्रदेशमा बहुमतको लागि अन्य दलहरूसंग पनि संवाद गरिरहेकाछन् । माओवादीका नेताका अनुसार प्रदेशमा सरकारको बहुमतको लागि जनमत, नेकपा एस र लोसपा संग पनि निरन्तर संवाद भईरहेको छ ।

माओवादीले संवाद गरेका सबै दलहरुले जसपाको नेतृत्व स्विकार नगर्ने अडान लिएको माओवादी स्रोतले बतायो । ‘सबैको एउटै शर्त जसपाको नेतृत्व स्वीकार नहुने भने पछि हामीले विकल्प खोज्न बाध्य भएका छौं’ माओवादी स्रोतले भन्यो । जसपाको नेतृत्वलाई नै निरन्तरता दिइयो भने माओवादी एमालेले समेत सरकारमा सहभागी नहुने सम्मको अप्रिय निर्णय गर्न सक्ने माओवादी स्रोत बताउँछ ।

संघीय सरकारमा सत्ता गठबन्धन फेरिए संगै जसपा नेतृत्वको प्रदेश सरकार अल्पमतमा परिसकेको छ । जनमत पार्टीले पहिल्यै नै सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता गरि सकेको छ । नयां समीकरणमा लोसपा सहभागी नहुने पक्का छ ।

जसपालाई आफ्नो पक्षमा समर्थन जुटाउन धौ धौ परेको छ । मुख्यमन्त्री सरोज यादवको पक्षमा कोही पनि जान तयार नभए पछि जसपाले मुख्यमन्त्री फेरेर भए पनि आफ्नै नेतृत्वको सरकार जारी राख्ने योजना बनाईरहेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशमा आफ्नै नेतृत्वमा सरकारलाई निरन्तरता दिने भन्दै पार्टीलाई नयां सत्ता समीकरणमा लैजाने निर्णय गरेका थिए । मुख्यमन्त्री सरोज यादवलाई परिवर्तन गरेर भए पनि प्रदेश सरकार नेतृत्वको दाबी कुनै हालतमा नछोड्ने यादव निकट स्रोत बताउँछ ।