• २०८३ असार १७
  • 2026 July 01, Wednesday

महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्नैपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न आह्वान गरेका छन् । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार राष्ट्रपति पौडेलले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यासहरूका कारण महिलामाथि विभेद र उत्पीडन हुँदै आएको भन्दै त्यसको अन्त्य गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

‘परम्पराका नाममा समाजमा कायम रहेका खराब अभ्यासहरू जस्तै बोक्सी, छाउपडी, बालविवाह, दाइजो तथा तिलकजस्ता प्रथाले महिला, किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटनाहरू निर्मूल गर्न अझै पनि थप कार्यक्रमहरू तय गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ,’ राष्ट्रपति पौडेलले भनेका छन् ।

उनले विश्वभरि नै महिलाहरुको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिहरुलाई स्मरण गर्दै महिलाहरुको सम्मानमा यो दिवस मनाउने गरिएको बताएका छन् । ‘लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रकृया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस गरेको छु,’ राष्ट्रपति पौडेलले भनेका छन् ।