• २०८३ असार १७
  • 2026 July 01, Wednesday

‘महिलामाथिको लगानीले सभ्य समाज निर्माण’

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले महिलामाथिको लगानीले भविष्य र सभ्य समाजको निर्माण हुने बताएकी छन् ।

राष्ट्रिय नागरिक विकास समाजद्वारा सोमबार राजधानीमा आयोजित विशेष समारोहमा उनले एउटा असल नागरिक तयार गर्न राम्रो संस्कार दिनु एउटा आमाको हातमा नै भएको भनाइ उनले राखिन् ।

उनले भनिन्, ‘आज महिला र आमालाई लगानी गर्नु भनेको बालबालिकालाई लगानी गर्नु हो र यो भने भविष्य र सभ्य समाजलाई लगानी गरेको हो । हामी कसरी एउटा असल नागरिक सिर्जना गर्ने, छोरा र छोरी दुवैलाई कसरी राम्रो संस्कार दिने भन्ने कुरा एउटा आमाले नै गर्न सक्छ । त्यसले गर्दा नारीलाई यसपालिको लगानी गर्ने भनेर हाम्रो राष्ट्रिय जुन कथन छ, यसलाई पूरा गर्नुपर्छ ।’

यस्तै, उनले अहिले महिलाहरु बढी उद्यामशील हुँदै गएको भन्दै यस्तो अवस्थामा उनीहरुलाई प्रोत्साहन गर्नको लागि सरकारले लगानी गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘महिला उद्यामीमा पनि लगानी गर्नुपर्छ । अहिले जस्तो तरिकाले महिलाहरु लागिरहेका छन्, हरेक पालिकामा एउटै किसिमको नीति बन्ने हो भने, विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरुलाई सरकारले लगानी गर्नुपर्छ । यसबाट वैदेशिक रोजगारमा जान पर्ने बाध्यता हट्न सक्छ ।’

यसपालीको लगानी महिलाहरुको स्वास्थ्य, शिक्षा, आर्थिक लगायतको विकासका लागि हुनपर्ने भन्दै महिलाहरुको लागि सुरक्षित क्षेत्रको विकास अहिलेको आवश्यकता भएको पनि भनाइ उनले राखिन् ।